पर्दामा देखिने कलाकारहरूको अभिनयले दर्शकलाई आकर्षित गर्छ भन्ने सबैले अनुभूति गरेकै विषय हो । तर, चलचित्रमा देखिने दृश्यलाई सुन्दर र प्रभावकारी बनाउन पर्दापछाडि काम गर्ने प्राविधिकको भूमिकाका बारेमा धेरैलाई थाहा हुँदैन । प्रभावकारी ‘टिम स्प्रिट’का साथ निर्मण हुने चलचित्रमा पर्दापछाडि काम गर्ने निर्देशक, मुख्य सहायक र सहायक निर्देशकको जिम्मेवारी तथा भूमिका महत्वपूर्ण हुने भए पनि ती सदैव ओझेल परिरहेका हुन्छन् ।
मुख्यतः धेरैले पर्दा पछाडिका ‘हिरो’ भनेर निर्देशकलाई चिन्ने गर्छन् । किनकि निर्देशक नै चलचित्र तयार गर्ने ‘टिम क्याप्टेन’ हुन् । तर, पर्दाभित्र रही निर्देशकलाई पनि सघाउने मुख्य सहायक तथा सहायक निर्देशकहरू आम दर्शकमाझ अपरिचित तथा गुमनाम हुन्छन् ।
चलचित्रको व्यवस्थापनदेखि कलाकारको तालिम, संवाद र दृश्य व्यवस्थापनसम्म उनीहरू सक्रिय रहन्छन् । निर्देशकको योजना र भिजनलाई छायाङ्कन सेटमा कार्यान्वयन गराउने मुख्य व्यक्ति उनीहरू नै हुन् । छायाङ्कनको तालिका तयार पार्ने, कलाकार र प्राविधिकबीच समन्वय गर्ने र दृश्यको तयारी सुनिश्चित गर्नु उहाँहरूको जिम्मेवारी हो । यदि निर्देशक चलचित्रको कप्तान हुन् भने सहायक निर्देशकहरू खेलमैदानमा रणनीति कार्यान्वयन गराउने खेलाडी हुन् ।
हामीले सामान्यता देख्ने ‘क्ल्याप ब्वाई’ देखि ‘एक्सन कट’ भन्ने निर्देशकसम्मकै मेहनतले एउटा चलचित्रलाई पूर्ण बनाउन मद्दत गर्छ । तर, निर्देशकको चर्चा भए तापनि मुख्य सहायक वा सहायक निर्देशकको विरलै चर्चा हुने गर्छ ।
‘पर्दा पछाडिका हिरो’ का रुपमा चिनिने उनीहरूले मेहनत धेरै र चर्चा कम पाउने गर्छन् । विगत डेढ दशकदेखि ‘क्ल्याप ब्वाई’ हुँदै मुख्य सहायक निर्देशकसम्म भूमिका निर्वाह गरिसक्नुभएका फिरोज खड्काका अनुसार निर्देशक र कलाकार बीचको पुलको काम सहायक निर्देशकहरूले गर्दछन् ।
“सहायक निर्देशकका रुपमा जति मेहनत गर्न सक्यो त्यति नै काम सिकिन्छ । तर, निर्देशकको विश्वास जितेर काम गर्न सक्नुपर्छ । आफ्नो कामसँगै अन्य काममा पनि आफ्नो सहभागिता देखाउन सक्नुपर्छ, किनकि सहायक निर्देशक भए पनि निर्देशककै समूहमा रहेर काम गरिरहेका हुन्छौँ”, मुख्य सहायक निर्देशक खड्काले भन्नुभयो ।
उहाँका अनुसार दृश्यको निरन्तरता, एउटा दृश्यमा देखिने सम्पूर्ण समान र कलाकारको भावको निरन्तरतासँगै कलाकारलाई पात्रसँग जोड्ने काम सहायक निर्देशकहरूकै हुन्छ । उहाँले चलचित्र ‘भगवान् सबैको’ मार्फत निर्देशक विभागमा कामको सुरुआत गर्नुभएको थियो । त्यसयता ‘गुडबाई काठमाडौँ’, ‘लूट’, ‘सेतो सूर्य’, ‘राजगञ्ज’ लगायतका लोकप्रिय चलचित्रहरूमा उहाँले काम गरिसक्नुभएको छ ।
उहाँ पछिल्लो समय खोजिने मुख्य सहायक निर्देशकको रुपमा परिचित हुनुहुन्छ । प्रायः निर्देशक निश्चल बस्नेतको मुख्य सहायक भएर उहाँले काम गर्दैै आउनुभएको छ । “निर्देशक बस्नेतसँग सुरुआती दिनदेखि नै काम गरेकाले पनि हामी सहज भयौँ, उहाँले पनि विश्वास गर्नुभयो । त्यसकारण उहाँका चलचित्रमा मैले मुख्य सहायक निर्देशक भएर काम गरेको छु । राम्रो निर्देशकहरूसँग काम गर्न पाउँदा हामीले पनि सिक्दै, बुझ्दै आफूलाई परिपक्व बनाउन सक्छौँ”, उहाँले भन्नुभयो ।
निर्देशन विभागमै रहेर डेढ दशक काम गरिसक्नुभएका अर्का निर्देशक हुनहुन्छ, अनिल खड्का । उहाँले पनि धेरै चलचित्रमा सहायक र मुख्य सहायक निर्देशकका भूमिका निर्वाह गरिसक्नुभएको छ । केही चलचित्रमा निर्देशकले विश्वास गरेर उहाँलाई दृश्य निर्देशन गर्न पनि प्रेरित गर्नुभएको छ ।
“हामीले निर्देशककै अन्तर्गत रहेर काम गर्छौं । कलाकार र निर्देशक बीचको सहजीकरणसँगै निर्देशककै आँखा बनेर हामीले काम गरिरहेका हुन्छौँ । त्यसले हामीलाई काम गर्ने शैलीबारे अवगत गराउनाका साथै कठिनाइसँग पनि जानकार गराउँछ”, उहाँले भन्नुभयो ।
मुख्य सहायक निर्देशक भएर काम गरिरहनुभएका खड्का विस्तारै चलचित्र निर्देशनको तयारीमा हुनहुन्छ । तर, आफूलाई चित्त बुझ्दो पटकथा नपाउँदासम्म उहाँले त्यो आँट गर्न सक्नुभएको छैन ।
“हामीले छिमेकी देश भारतकै बलिउडको उदाहरण हे¥यौँ भने त्यहाँ आफ्नो सहायकलाई निर्देशकका रुपमा अगाडि ल्याएको देखिन्छ । तर, नेपालमा लगानीकर्तासँग ‘कर्पोरेट हाउस’ विरलै जोडिन्छन् । फलतः आफ्नो गोजीको लगानीमा ‘रिस्क’ लिन कसैले आँट गर्दैनन् । त्यही भएर मुख्य सहायक निर्देशक हुँदै निर्देशक बनेका धेरैले निरन्तरता दिन सकिरहेका छैनन्”, निर्देशक अधिकारीले भन्नुभयो ।
उहाँहरू झैँ काम गरेर निर्देशक बन्नुभएका भद्र भुजेल, सम्राट शाक्य, मुस्कान ढकाललगायतका निर्देशकले आफ्नो पेसालाई निरन्तरता दिन कठिनाइको सामना गरिरहनुभएको छ । त्यसकारण पनि केही साहायक निर्देशकहरू पूर्णरुपमा निर्देशक बन्न तयार देखिएका छैनन् । उनीहरू निर्देशकीय चलचित्र व्यावसायिक रुपमा असफल भएमा चलचित्र निर्देशनसँगै निर्मातालाई रिझाउनुपर्ने दबाब हुने बताउँछन् ।
–––
रासस








